दफा १४
वस्तु विनिमय बजारको शेयर लिन नसक्ने अवस्था
(१) देहायकोे व्यक्ति वा संस्थाले वस्तु विनिमय बजारको शेयर खरिद गर्न सक्ने छैनः–
(क) दामासाही सम्बन्धी कारबाहीमा परेको बाह्र वर्ष अवधि व्यतित नभएको,
(ख) अर्को वस्तु विनिमय बजारको शेयरधनी रहेको,
(ग) प्रचलित कानून बमोजिम करार गर्न अयोग्य रहेको,
(घ) प्रचलित कानून बमोजिम कालो सूचीमा रहेको वा त्यस्तो सूचीबाट हटेको तीन वर्षको अवधि पूरा नभएको,
(ङ) प्राकृतिक व्यक्तिको हकमा भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरको अभियोगमा अदालतको अन्तिम फैसलाबाट कसूरदार ठहर भएको,
(च) सरकारी रकम तिर्न बाँकी भएको,
(छ) नैतिक पतन देखिने फौजदारी कसूरमा सजाय पाएको,
(ज) तोकिए बमोजिमको अन्य अवस्थामा रहेको ।
(२) उपदफा (१) बमोजिम शेयर खरिद गर्न नसक्ने व्यक्ति वा संस्थाले कुनै किसिमले शेयर प्राप्त गरेमा वा शेयर खरिद गरिसकेपछि उपदफा (१) बमोजिमको अवस्था उत्पन्न भएमा पैँतीस दिनभित्र त्यस्तो शेयर अरु कसैलाई बिक्री वा हस्तान्तरण गर्नु पर्नेेछ ।
(३) उपदफा (२) बमोजिमको अवधिभित्र शेयर विक्री वा हस्तान्तरण नगरेमा बोर्डले त्यस्तो शेयर जफत गर्नेछ ।
(४) उपदफा (३) बमोजिम जफत गरेको शेयर बोर्डले तोकिए बमोजिम बिक्री गर्नेछ ।